You are here

आरनटोलको सामुहिक माहुरीपालन योजना, बन्यो जिल्लाकै एक नमुना (CAC Success Story)

Submitted on: Wed, 02/24/2016 - 15:53
आरनटोलको सामुहिक माहुरीपालन योजना, बन्यो जिल्लाकै एक नमुना (CAC Success Story)

आरनटोलको सामुहिक माहुरीपालन योजना, बन्यो जिल्लाकै एक नमुना

विकास क्रियाकलाप समुदायको आवश्यकतामा आधारित भई सञ्चालन भए मात्र आयोजना गुणस्तरीय हुने र आर्थिक पारदर्शिता कायम भई आयोजनाबाट बढी भन्दा बढी प्रतिफल प्राप्त गर्न स्वयं समुदायले नै अग्रसरता लिन्छन् भन्ने कुराको साक्षी म्याग्दी जिल्ला पात्लेखेत गाविस वडा नं ६ मा रहेको अति विपन्न र सिमान्तकृत आरनटोलको नागरिक सचेतना केन्द्रका सदस्यहरु भएका छन् ।

जिल्ला विकास समिति, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) म्याग्दीवाट पात्लेखेत गाविसलाई उपलव्ध गराइएको साना पूर्वाधार अनुदानवाट गत आ.व.०७१।७२ मा म्याग्दी  जिल्ला पात्लेखेत गाविस वडा नं ६ आरनटोलको नागरिक सचेतना केन्द्रले स्थानीय संभावना र आवस्यकतामा आधारित रहि छनौट गरी कार्यान्वयन गरेको सामुहिक माहुरीपालन आयोजना अत्यन्त गुणस्तरयुक्त र प्रतिफल उन्मुख देखिएको छ । यस आयोजनामा स्थानीय समुदाय एवं सदस्यहरुको योगदान हुनुमा आवश्यकताको पहिचानदेखि आयोजनाको प्रतिफल वितरण सम्मका हरेक चरणहरुमा संवन्धित सवै सदस्यहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गराउने हामी सबैको प्रयासको प्रतिफल हो भन्नुहुन्छ आरनटोल नागरिक सचेतना केन्द्रका संयोजक मिना वि.क.। स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) वाट रु ३ लाख १५ हजार र समुदायवाट रु १५ हजार गरी जम्मा रु ३ लाख ३० हजारको लागतमा सञ्चालित यो आयोजनामा समुदायको उल्लेखनीय सहभागिता र अपनत्व भएको देख्न सकिन्छ । कुल रकमबाट २० वटा आधुनिक माहुरीघार, टहरा निर्माण, तारवार तथा मह उत्पादन तथा प्रशोधनका लागी अत्यावस्यक सामाग्री खरिद गरिएको बताउनुहुन्छ संयोजक वि.क ।

स्थानीय आवस्यकता एवं संभावनामा आधारित भई माहुरीपालनको आयोजना छनौट, आवस्यक पूर्वाधार निर्माण, जग्गा व्यबस्थापन तथा माहुरीपालन सम्वन्धी आधारभुत तालिम आदी जस्ता आयोजनाका विविध चरणहरुमा नागरिक सचेतना केन्दका सदस्यहरुले गरेको बृहत छलफल, मेहनत एवं योगदानले आयोजनाप्रति समुदायको सहभागिता र अपनत्व भएको पुष्टि गर्दछ । योजनाको संचालन सम्वन्धमा गरिएका निर्णय तथा सोको अभिलेख,  आयोजना सूचना पाटी तथा माहुरीपालनबाट प्राप्त महको बिक्री वितरणबाट प्राप्त रकमको स्पष्ट अभिलेखन  जस्ता कार्यहरुले आरनटोल नागरिक सचेतना केन्द्रका सदस्यहरु आर्थिक अनुशासन र पारदर्शिता कायम गर्न निकै सचेत भएको समेत देखिन्छ । आयोजनाबाट बढी भन्दा बढी प्रतिफल प्राप्त गर्न नागरिक सचेतना केन्द्रकै पहलमा स्थानीय कृषी सेवा केन्द्र संग समन्वय गरी एक दिने आधारभुत माहुरीपालन सम्वन्धी तालिम पनि सम्पन्न गरिएको बताउनुहुन्छ सामाजिक परिचालक रिता पौडेल । त्यस्तै आयोजनाको प्रभावकारी ब्यबस्थापन तथा रेखदेखका लागी केन्द्रको निर्णयबाट बार्षिक रु १६ हजार ज्यालामा एक जना हेरालुको समेत व्यबस्था गरिएको छ । वरिपरीको सबै जग्गामा बलियो तरिकाले तारबार गरिएको छ र बिरालो लगायत अन्य जंगली जनावरबाट माहुरिका घारहरुलाई शुरक्षा दिन उक्त तारमा निरन्तर बिद्युत धारा प्रवाहित गरीएको छ । साथै वरिपरीको खाली जग्गामा तोरी खेती गरी माहुरीको लागी आवस्यक चरनको वन्दोवस्त गर्ने प्रयास भएको छ र तोरी खेतिबाट पनि थप आय भएको कुरा ना.स.के सदस्य ईनामती रोका बताउनुहुन्छ । पहिलो चरणमा ८ वटा घारबाट १६ के.जी मह उत्पादन भएको र बाँकी १२ घार अली गर्मी बढ्ना साथ खोली मह उत्पादन गर्ने योजना रहेको बताउनुहुन्छ स्थानीय सहजकर्ता मिना रोका ।

स्थानीय आवस्यकतामा आधारित भई पहिला पनि समुदायस्तरबाट यस्ता खालका आयोजना गाबिसमा माग भए पनि आर्थिक श्रोतको कमीका कारण कार्यक्रम सञ्चालन गर्न नसकिएकोमा यस वर्ष (LGCDP) वाट प्राप्त श्रोतलाई प्रभावकारी परिचालन गरि नमुना आयोजना निर्माण भएको वताउनु हुन्छ गाविस सचिव श्री ऋषीराम भण्डारी ।

विकास क्रियाकलापहरुमा सम्वन्धित सरोकारवालाहरुको उल्लेखनिय सहभागिता भएको, स्थानीय परिवेश अनुसारको तथा स्थानीय तहबाटै व्यबस्थापन गरी दिगो आयश्रोतको रुपमा विकास गर्न सकिने यस्ता नमुना प्रयासलाई  अरु ठाँउमा पनि लैजान सके दिगो सामुदायिक विकासको आधार निर्माण हुनेमा कुनै शंका छैन ।

पात्लेखेत गाबिस वडा नं ६ आरनटोलको स्थलगत अनुगमनको आधारमा तयार गरिएको

सन्तोष राज पन्थी, जिल्ला शासन विज्ञ

प्रविण पौडेल , ICTV