You are here

गाविसको लेखा प्रणाली बैशाख देखि विद्युतीय बनाइने

Submitted on: Wed, 04/15/2015 - 16:16
Local training on VDC accounting software in Pokhara

सागर राज तिमिल्सिना
पोखरा, २० चैत/सरकारले गाविस कार्यालयहरुको लेखा प्रणालीलाई चुस्त र दुरुस्त राख्नका लागी विद्युतीय माध्यमलाई प्रयोग गर्ने भएको छ । त्यसका लागी गाविस सचिवहरुलाई तालिम दिने तयारी सरकारले गरेको छ । पहिलो चरणमा नेपालका १ हजार गाविसमा सरकारले लेखा प्रणाली विद्युतीय माध्यमबाट सन्चालन गर्ने भएको छ ।
बैशाख अन्त्य सम्ममा ५ सय गाविस र असार अन्तिम सम्ममा १ हजार वटा गाविसमा लेखा प्रणाली विद्युतीय माध्यमबाट सन्चालन गरिने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालका लेखाअधिकृत विदुरकुमार धिमालले जानकारी दिए । कुनै पनि गाविसले दैनिक गरेको लेखाको काम त्यती नै बेला मन्त्रालयले हेर्न मिल्ने गरी सफ्टवेयर बनाइ सकेको धिमालले बताए । उनले सबै जिल्लाका स्थानीय निकायका दुई÷दुई जनालाई गाविस सचिवहरुलाई तालिम दिनका लागी प्रशिक्षक प्रशिक्षण तालिम समेत दिएको बताए ।

धिमालले पोखरा पनि पश्चिमाञ्चल क्षेत्रका प्रशिक्षकलाई बुधबार देखी शुक्रबारसम्म तालिम दिएको बताउदै उनिहरुले गाविस सचिबहरुलाई  पनि एक हप्ताको तालिम दिने बताए । गाविस सचिबहरुलाई एक हप्ताको तालिम दिए पछि लेखाको काम सचिवहरुले विद्युतीय प्रणाली अनुसार नै गर्ने स्थानीय विकास मन्त्रालयका प्रशिक्षक प्रदिप चापागाईले बताए । उनले विद्युतीय प्रणाली प्रयोग भए पछि देश भर एकै ढाचाँको हुने बताउदै सचिबहरुले एक शिर्षकको खर्च अर्को शिर्षकमा गर्न नपाने बताए ।

ठिक गरेका छन्की छैनन् मन्त्रालयबाटै हेर्न सकिने चापागाईको भनाई छ । मन्त्रालयका सुचना तथा सञ्चार प्रविधि विज्ञ एकेन्द्र लम्सालले लेखा प्रणालीलाई विद्युतीय बनाउदा विद्युतीय शासनलाई टेवा पुग्ने बताए । लम्सालले अहिले सम्म बेग्ला बेग्लै सफ्टवेयर प्रयोग गर्दा महङ्गो र काम गर्न अफ्टेरो हुने गरेको बताए । अब एक रुपता हुदा काम गर्न सजिलो हुने बताए ।

Source: http://ganthan.com/nepal/vdc-lak/